वीरगंज ०१ भदौ । नेपाल विद्युत प्राधिकरण वीरगंज वितरण केन्द्र, पर्साको ४१औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न भएको छ।
वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा नेपाल विद्युत प्राधिकरण वीरगंज वितरण केन्द्र, पर्साका प्रमुख इन्जिनियर विजय महतो तथा सन्तोष कुमार झाको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा प्राधिकरणका वर्तमान कर्मचारी, पूर्वकर्मचारीलगायतको उल्लेख्य सहभागीता रहेको थियो।
कार्यक्रममा बोल्ने वक्ताहरूले वीरगंज तथा आसपासका क्षेत्रमा भरपर्दाे, गुणस्तरीय र नियमित विद्युत सेवा प्रवाह गर्न नेपाल विद्युत प्राधिकरणले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गरे। विद्युत सेवा विस्तारसँगै सेवाग्राहीलाई छिटो, सहज र प्रभावकारी सेवा उपलब्ध गराउन वितरण केन्द्रले आगामी दिनमा थप सक्रियताका साथ काम गर्नुपर्नेमा उनीहरूले जोड दिए।
वार्षिक उत्सवका अवसरमा वीरगंज वितरण केन्द्रको स्थापना, हालसम्मको सेवा प्रवाह, विद्युत वितरण प्रणालीमा भएका सुधार तथा आगामी दिनमा गर्नुपर्ने कार्यहरूवारे समेत विस्तृत चर्चा गरिएको थियो।