पर्सा , साउन २६ —
स्वास्थ्य उपचारपछि नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार स्वदेश फर्किने भएका छन्। देउवालाई स्वागत गर्न कांग्रेसका शीर्ष नेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने भएका छन्।
कांग्रेसको संस्थापन इतर समूहले साउन २९ देखि काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय भेलाको तयारी समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा नेताहरू विमानस्थल पुग्ने नेता मीन विश्वकर्माले जानकारी दिएका छन्।
विश्वकर्माका अनुसार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइरालासहित पूर्वपदाधिकारी तथा केन्द्रीय सदस्यहरूको ठूलो समूह देउवालाई स्वागत गर्न विमानस्थल पुग्नेछ।
देउवा थाइल्याण्डबाट थाई एयरको विमानमार्फत बिहीबार दिउँसो १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको विश्वकर्माले बताएका छन्।
गत फागुन १३ गते स्वास्थ्य उपचारका लागि नेपालबाट सिंगापुर गएका देउवा उपचारपछि चैत ७ गते थप उपचारका लागि हङकङ पुगेका थिए। त्यसपछि थाइल्याण्ड हुँदै उनी नेपाल फर्किन लागेका हुन्।
स्वदेश फर्किएलगत्तै देउवा पार्टीको आन्तरिक गतिविधिमा सक्रिय हुने नेताहरूले बताएका छन्। साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना हुने राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको विश्वकर्माले पुष्टि गरेका छन्।
कांग्रेसभित्र विशेष महाधिवेशनपछि उत्पन्न विवादबीच संस्थापन इतर समूहले राष्ट्रिय भेला आयोजना गर्न लागेको हो। देउवाको स्वदेश फिर्तीपछि पार्टीको आन्तरिक राजनीतिक गतिविधि थप सक्रिय हुने नेताहरूले बताएका छन्।