वीरगंज , भदौ २ —
पर्साको ठोरी प्राकृतिक सौन्दर्य, जैविक विविधता र भौगोलिक विशेषताका कारण पर्यापर्यटनको सम्भावनायुक्त गन्तव्यका रूपमा विकास हुँदै गएको छ।
घना जंगल, पहाडी भू–दृश्य, गुफा, झरना तथा वन्यजन्तुको वासस्थानसँगै लाल पहाड, सेतो पहाड, गोलेडाँडा भ्यु टावर, रेडहिल पार्क, राइधारा, चिसापानी र सीता गुफालगायत क्षेत्र पर्यटकको आकर्षण बनेका छन्।
पर्सा राष्ट्रिय निकुञ्ज तथा चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको ठोरीमा जंगल सफारी, पदयात्रा, साइकल यात्रा र चराचुरुङ्गी अवलोकनको समेत सम्भावना छ। धार्मिक तथा सांस्कृतिक पर्यटनका लागि सीता गुफा, पशुपतिनाथ, बाघमोर्चामाईलगायत स्थल छन् भने विभिन्न होमस्टेले स्थानीय समुदायलाई पर्यटनसँग जोडिरहेका छन्।
तर पर्यटकीय सम्भावनाअनुसार पूर्वाधार अझै पर्याप्त छैन। पदमार्ग, सूचना केन्द्र, फोहोरमैला व्यवस्थापन, खानेपानी, शौचालय, सुरक्षा तथा व्यवस्थित पर्यटकीय स्थल निर्माणमा ध्यान दिनुपर्ने देखिन्छ।
स्थानीय उत्पादन, होमस्टे र पर्यापर्यटनलाई एकीकृत गर्दै प्रकृति संरक्षणसहित दीर्घकालीन योजना बनाउन सके ठोरीलाई मधेस प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने स्थानीयको विश्वास छ।
चिरञ्जीवी सापकोटा // प्रतीक दैनिक