पर्सा , साउन २४ —
नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि सुरु हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले प्रतियोगिताको मिति सार्वजनिक गर्दै एनपीएल कात्तिक ९ देखि मंसिर ५ गतेसम्म सञ्चालन हुने जनाएको छ।
क्यानका सचिव पारस खड्काले जारी गरेको विज्ञप्तिअनुसार यसपटक एनपीएलको मिति दसैँ र तिहारको बीचमा परेको छ। तिहारका दुई दिनबाहेक अन्य दिन खेल सञ्चालन गर्ने तयारी गरिएको क्यानले जनाएको छ।
यसअघि एनपीएल तिहारपछि मंसिरमा आयोजना हुँदै आएको थियो। तेस्रो संस्करणका लागि खेलाडीको अक्सनसमेत सम्पन्न भइसकेको छ भने सहभागी टोलीहरू विदेशी खेलाडी अनुबन्ध गर्ने प्रक्रियामा रहेका छन्।
एनपीएलको पहिलो संस्करणदेखि नै प्रतियोगिताले नेपाली क्रिकेटमा लोकप्रियता हासिल गर्दै आएको छ। पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो भने दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको थियो।
