वीरगंंज , भदौ २ —
मकवानपुरको भीमफेदीमा स्कार्पियो दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश गोकर्ण डाँगीसहित चार जनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार नेपाली सेनाको हेलिकप्टरमार्फत न्यायाधीश डाँगीसहित अन्य तीन जनालाई काठमाडौं लगिएको हो। दुर्घटनामा घाइते सवारी चालक छुनिलाल चौधरी र उच्च अदालतका रजिष्ट्रार तारादत्त बडुलाई भने उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको छ।
मंगलबार बिहान काठमाडौंँबाट वीरगंजतर्फ आउँदै गरेको प्रदेश–३–०१–००२ झ ५१८३ नम्बरको स्कार्पियो भीमफेदी गाउँपालिका–६, जुरिखेलमा सडकबाट करिब ६० मिटर तल खसेर दुर्घटना भएको थियो।
दुर्घटनामा न्यायाधीश डाँगीसहित चालक चौधरी, रजिष्ट्रार बडु, उनकी श्रीमती लक्ष्मी बडु, छोरा रितेन्द्र बडु र दिदी रिता बडु घाइते भएका छन्। प्रहरीका अनुसार लक्ष्मीको अवस्था गम्भीर छ भने अन्य पाँच जनाको अवस्था मध्यम रहेको छ।