रौतहट भदौ ९ —
रौतहटको गुजरा नगरपालिका–२ चोचास्थित नहरमा मंगलबार बिहान एक पुरुषको शव फेला परेको छ। शवको पहिचान खुल्न सकेको छैन।
नहरमा शव बगाएर ल्याएको खबर पाएपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थल पुगेको थियो। सुरक्षाकर्मीले शव नहरबाट निकालेर किनारमा राखेका थिए।
घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरी निरीक्षक दिनेश थापाको नेतृत्वमा SOCO सहितको टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ।
मृतकको नाम, ठेगाना र मृत्युको कारण खुल्न नसकेको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।