मुम्बई , भदौ ९ —
बलिउड अभिनेता गोविन्दाकी पत्नी सुनीता आहुजाले आफूले दायर गरेको सम्बन्धविच्छेदको मुद्दा फिर्ता लिएकी छन्।
बुधबार छोरा यशवर्धन आहुजासँग मुम्बईको पारिवारिक अदालत पुगेकी सुनीताले गोविन्दाविरुद्ध दायर गरेको निवेदन फिर्ता लिएको उनका म्यानेजर शशि रञ्जनले जानकारी दिएका छन्। उनका अनुसार अहिले दुवैबीचको अवस्था सामान्य रहेको र सम्बन्ध सुधार हुने अपेक्षा गरिएको छ।
सुनीताले सन् २०२४ को डिसेम्बरमा बान्द्रा पारिवारिक अदालतमा सम्बन्धविच्छेदको निवेदन दायर गरेकी थिइन्। पछिल्लो समय गोविन्दा र उनकी आगामी फिल्मकी सह–अभिनेत्रीबीचको सम्बन्धलाई लिएर सुनीताका टिप्पणीपछि उनीहरूबीच विवाद बढेको थियो।
गोविन्दा र सुनीताले सन् १९८७ मा विवाह गरेका हुन्। उनीहरूका दुई सन्तान छोरी टिना र छोरा यशवर्धन छन्।