कोरोनाले चटक्कै नछोडेको भए पनि नेपालीलाई विस्तारै दशैंले छोइसकेको छ । विदेशबाट घर र्फकने नेपालीको संख्याले होस् या शहरबाट गाउँ र्फकने मानिसको संख्याले यसलाई थप पुष्टि गर्दछ ।
कतिपयले दशैंको लागि खरीद गरेको तथा तयार गरी पालिराखिएको खसी, बोका तथा राँगाहरूको फोटो सार्वजनिक गर्न पनि भ्याइसकेका छन् भने कतिपयले चाहिं दशैंको लागि मासु जोहो गर्न शुरु गरेका छन् । तर वर्षेनि दशैं नजिकिएसँगै मासु खाने र नखाने बीच एउटा कडा वादविवाद, बहस तथा छलफल शुरु हुने गर्दछ ।
त्यति मात्र होइन मासु नखानेले मासु खानेहरूलाई ‘राक्षस’ सम्मको संज्ञा दिने गर्दछन् । त्यसैले एउटा प्रश्न सधैं मनमा खेलिरहन्छ- के मासुखानेहरू सबै राक्षस हुन् त ? त्यसो भए डाक्टर, वैद्य, धार्मिक गुरुहरूले समेत किन मासु खाएका होलान् ? अनि मासु हामी मानव शरीरका लागि किन आवश्यक छैन भनी निष्कर्षहरू ननिक्लिएका होलान् ?
कुनै पनि प्रतियोगितामा मासु खानेले मात्रै या नखानेले मात्रै जितेको रेकर्ड छ र ? अब अर्को प्रश्न- के मानिसले मासु नखाएको भए आजसम्म मानव इतिहास यहाँसम्म आउन सम्भव हुन्थ्यो होला त ? यो संसारमा प्रजनन क्षमता भएको कैयौं प्राणीहरू छन्, तिनीहरूलाई निर्वाध रूपमा छाड्ने हो भने के साँच्चै आज हामी मानव रहिरहन्थ्यो होला त ?
उदाहरणको लागि एउटा बाख्रोलाई लिऔं- एउटा बाख्रोले उसको जीवनकालमा कति पटक सन्तान जन्माउँछ ? मानौं- १० पटक । १० पटकमा सामान्यतया दुई वटाको दरले हिसाब गर्दा २० वटा पाठा जन्मन्छन् । उसले जन्माएको सन्तानले फेरि ६ महीनामा नयाँ सन्तान दिन सक्षम हुन्छ । अब उसले जन्माएका २० सन्तानमध्ये प्रत्येकले नयाँ २० जन्माउँछन् ।
यसरी संख्या बढ्दै जाने हो भने सोच्नुस् त १० वर्षमा बाख्राको संख्या कति पुग्ला ? यो त गर्भवधि ६ महीना रहेको जीवको हिसाब भयो । २१ दिनमा नयाँ सन्तान दिन परिपक्व हुने कुखुराको यस्तै हिसाब कति निस्कन्छ होला ?
अनि हिंस्रक प्राणीहरूले हामीलाई बाँकी राख्लान् ? वास्तवमा खसी, बोका, कुखुरा लगायतका मानिसले मासु खाने जीवहरू मानिसको आर्थिक उपार्जनको साधन पनि होइन र ? मानिसहरूले मासु नै खाएनन् भने तिनीहरू पाल्नुको कुनै अर्थ रहन्छ ?
अब भन्नुस्- खसी र बोका बेचेको पैसाले दशैं मनाउनेहरूले मासु खानेहरूको विरोध गर्न सुहाउँछ ? जीवनभर दूध खाएर उसको प्रजनन क्षमता समाप्त भई राँगो नलागेको झोंकमा मम बनाउन बूढी भैंसी बेच्नेहरूले मासु खानेहरूको विरोध गर्न सुहाउँछ ?
यो पढिरहँदा मासु खानेलाई ‘राक्षस जस्तो’ भन्दै तुच्छ बोल्नेहरूको मनमा लाग्दो हो कि मैले काटमारलाई प्रोत्साहित गरिरहेछु । अनि यो लेखकलाई जनावरहरूको अधिकारप्रति कुनै ज्ञान छैन । शायद यो लेख प्रकाशित हुने मिडियाले पनि अलि अलि गाली पाउँदो हो कि यस्ता लेखलाई किन स्थान दिएको भनी ।
त्यसो होइन, विना काटमार मासु हुन सक्दैन । त्यसैले उनीहरूलाई कसरी काटमार गर्दा पीडा कम हुन्छ, त्यो विषयमा भने मासुखानेहरूले सोच्नै पर्छ । राजमार्गमा ढुवानी गर्दा जनावरहरूले भोग्नुपरेको पीडाले हामी मानवको चेतनालाई गिज्याइरहेछ । त्यसप्रति हामी मानव समुदाय गम्भीर हुनै पर्छ ।
मासु खानु र नखानु व्यक्तिगत स्वतन्त्रताको कुरा हो । त्यसैले मासु नखानेहरूलाई अप्ठ्यारो पर्ने कुनै व्यवहार कसैले पनि गर्नुहुँदैन । त्यस्तै मासु नखानेहरूले पनि मासु खानेहरूले मानौं कुनै अखाद्य वस्तु खाए झैं व्यवहार गर्नुहुँदैन । यसपालिको दशैं अघि मासु खाने र नखाने बीचमा सौहार्दता कायम रहोस् । सबैलाई दशैंको अगि्रम शुभकामना !
(लेखक खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा कार्यरत छन् ।)
https://ift.tt/3oz37BU
प्रतिक्रिया लेख्नुहोस्