स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

दार्जिलिङ : नेपाली मन, नेपाली पन

SHARE:

दार्जिलिङ चौरस्ताको फलामे चौतारीमा सुस्ताउन लागेका बेला विराटनगरका विकेश पोख्रेल काल्लिए- ‘आम्बो ज्ञ कत्रो भिर रैछ । हृयाँको मान्छे भिरको टुप्पामा यसरी रातदिन बस्न नि डराउँदैन कि क्या हो ?’

विकेश सधैं यस्ता शब्द बोल्दैनन् । इलामको पशुपतिनगर कटेर फाटक टेक्नेबित्तिकै उनलाई सुरुमै गढेको शब्द हो -आम्बो ! फाटकबाट दार्जिलिङका लागि आफू चढेको गाडीका चालक कुनै नयाँ कुरा सुन्यो कि निकै अचम्म मानेर उही शब्द दोहोर्‍याइहाल्थे- आम्बो हो र ! आम्बो कहिले हौ !

अनि, हृयाँ (यहाँ), रैछ (रहेछ) जस्ता शब्द उनका लागि नौला थिए ।

दार्जिलिङ्गे लवज ‘टच्ची’ लाग्यो उनलाई । चालकले आश्चर्य दर्साउन जसरी यी शब्द उच्चारण गर्दैथिए, विकेशलाई चाहिँ चालकका शब्दप्रति त्योभन्दा धेरै अचम्म लागिरहेथ्यो । दार्जिलिङ घुम्न हिँडेका साथीहरूको हुलमा गाडीभित्र निकै रमाइला कुराकानी भए । तर, अचम्मै लागेपनि गाडीमा छउञ्जेल उनले ‘आम्बो’जस्ता शब्दको नक्कल गर्ने आँटचाहिँ गरेनन् ।

जखमले कपाल, कालो चस्मा र दाहिने हातका तीन वटा औंलामा लहरै पहेँलो औंठी लाएका चालक जति रमाएर अपरिचित आफूहरूसँग खुलेर कुरा गरिरहेका थिए । ती चालकका टयाटु खोपेका पाखुराले चाहिँ त्यस्तो सजिलो छनक दिइरहेका छैनन् भन्ने लाग्यो उनीहरूलाई । त्यसैले बेला-बेला त बीचैमा आफू पनि ‘आम्बो..’ भनिदिउँ कि जस्तो लागेर पनि चुप बस्न बाध्य थिए । आफूले खिसिटयुरी गरेको चालकले बुझ्छन् कि भन्ने डरले बोल्ने आँट गरेनन् ।

चालकले पशुपतिनगरबाट सुरु भएको यात्रा दार्जिलिङ बीचबजारको टयाक्सी स्टेन्डमा नटुङ्गँदासम्म उनीहरूलाई दार्जिलिङको इतिहासदेखि वर्तमान र केही भविष्यसम्म बताउन भ्याइसकेका थिए, त्यो पनि मीठो शैली, मिजासिलो र अत्यन्त हाँसोठट्टाको भावमा । दार्जिलिङ जाँदा कुन-कुन पोइन्ट घुम्ने, कस्ता होटलमा बस्ने, कति खर्चमा कति दिन घुम्न सकिन्छ, यहाँको सामान्य इतिहास कस्तो छ भन्नेबारे प्रायः सबैजसो गाडीचालकले यात्रुलाई बताइदिने राम्रो संस्कारले उनीहरूलाई आकर्षित गर्‍यो । अचम्मचाहिँ यो लाग्यो कि, इतिहास, भूगोल, अर्थ, पर्यटन, साहित्य जे सोधेपनि चालकले सजिलैसँग बताइदिने । बेलाबेला उनीहरू सोच्थे- यहाँ त ड्राइभर पनि लोकसेवामात्र होइन, लोकसेवाको बाबुले पो छान्छ कि क्या हो ।

चौरस्ताको खुला आँगनछेउमा लहरै राखिएका फलामे चौतारीमा पुगेर विकेशले अघिदेखि नौलो लागेर उकुसमुकुस भइरहेको शब्द फुत्काए । धन्न गाडी चालक नजिकै रहेनछन् । विकेशको कुराले साथीहरू गल्लल्ल हाँसे । सँगै रहेका अर्का साथीले सही थपे- ‘आँच ! कस्तो डल्लै बोली मिलायो हौ यसले ।’ ‘आँच’ र ‘डल्लै’ पनि पशुपतिनगर-दार्जिलिङको गाडीभित्र चालक र रैथाने यात्रुबीचको कुराकानीमा प्रशस्त सुनिएका तर नौला शब्द थिए उनीहरूका लागि ।

सेप्टेम्बर र अक्टोबर प्रायः पर्यटकले भरिभराउ हुन्छ, दार्जिलिङ । यही मौसममा चाडपर्व पनि पर्ने भएकाले पर्यटकका लागि सुनमा सुगन्ध । ‘पहाडकी रानी’ उपमा पाएको दार्जिलिङ हेर्दा जति आकर्षक छ, यहाँका बासिन्दाको बोलीचाली, जीवनशैली, परम्परा र संस्कृतिप्रतिको आस्थाले पाहुनालाई त्योभन्दा बढी मोहित बनाउँछ । गत वर्षदेखि कोरोना संक्रमणले सुस्ताएको दार्जिलिङको पर्यटन यतिबेला चाहिँ मुच्र्छाउन खोज्दैछ । साथै, पाहुनाको आउ-जाउ बाक्लिँदैछ ।

नेपालीलाई सीमाबाट दार्जिलिङ छिर्न राजनीतिक भूगोलले छेक्दैन । बाह्रै महिना चिसो मौसम, हुस्सु र झरी हुने दार्जिलिङमा अहिले चाहिँ पर्यटकीय सिजन सुरु भएको छ । आकाश छयांग खुलेको छ । थुम्का-थुम्का डाँडाकाँडामा चियाबारी हरियै छ । सडकछेउमा धुपी-सल्लाको ढकमक्क जंगल र चिसो बतासले पर्यटकलाई स्वागत गरिरहेको छ । हत्केलामै देखिने कञ्चनजंघा हिमाल र हिमशृंखलाले नलोभ्याउने कुरा भएन ।

नितिङ्गेल पार्क ।

सडकछेउमा साना तर चिरिच्याट घर इलामको पूर्वी भारतीय सीमा क्षेत्र र दार्जिलिङको पहिचान । हरियालीभित्र प्रायः घरको रंग पनि हरियै । बौद्ध धर्मावलम्बीको बाक्लो बसोबास रहेकाले धेरैजसो घरका आँगनमा रंगीचंगी ध्वजा । ठाउँ-ठाउँमा गुम्बा र माने पनि । हुस्सु लागेका बेला अलकत्रामा गाडी चिप्लिने डरले कालो सडकमा लहरै गाडिएको गिट्टी । आहा ! मन रमाउन ठूलै कुरो के पो चाहिँदोरहेछ र !

‘दोजुहरू कहाँदेखि आउनुभाको ?’ चौरस्ताको चौतारीमा एकछिन सुस्ताएर आदिकवि भानुभक्त आचार्यको सालिकसँग सेल्फी खिच्नेबित्तिकै स्थानीयझैं देखिने युवकले नजिकै आएर सोधे ।

‘नेपालबाट ।’

‘नेपाल कुन जगा बोल्छ ?’

दोस्रो जिज्ञासाले भने एकछिन सबैलाई रन्थन्यायो- के हो यो जगा भनेको ? अक्क न बक्क भएपनि प्रतिप्रश्न गर्ने आँट कसैलाई आएन ।

सबै चुप लागेको देखेपछि तिनै युवकले दोहोर्‍याए, ‘हजुरहरू कुन ठाउँबाट यहाँ आउनुभाको भनेको नि ?’

‘ए, विराटनगर ।’

यतिबेला दार्जिलिङलाई दशैं-तिहारले छपक्क छोइसकेको छ । बजारमा किनमेल गर्नेको घुइँचो छ । बर्खाभर घरपरिपरि उमि्रएको झारपात उखेल्ने, लिपपोत गरेर चिटिक्क बनाउन सुरु भइसकेको छ

नेपालकै दोलखा घर भएपनि ३ वर्षयता दार्जिलिङमा भारी बोकेर गुजारा गरिरहेका ती युवक परिआउँदा टुरिस्ट गाइडसमेत बन्दारहेछन् । अझ नेपाली देखेपछि उनलाई आफ्नै गाउँले आएजस्तो लाग्ने । उनीसँग चिनजान भएपछि दार्जिलिङका पर्यटकीयस्थल उनैले घुमाइदिने भए । हातको नाम्लो साथीलाई थमाए । त्यसबीचमा भेट भएका विदेशी पर्यटकसित अंग्रेजीमै फरर बातचित गरेको देखेर अनौंठो लाग्यो । नजिकैको दोकानमा सामान्य चिया-नास्ता खाएर घुम्न जाने निधो भयो ।

‘अन्त दोजुहरू कहाँदेखि आउनुभा’को,’ इस्कुसजत्रो तात्तातो मोमो अघिल्तिरको प्लेटमा राखिदिँदै दोकानेले भलाकुसारी थाले ।

‘नेपालबाट ।’

‘ओहो ! अन्त नेपालतिर अचेल त स्ट्रयाक हुन छाडयो होला है ? पहिला त वाक्क लाउँथ्यो ।’ माटोको कपमाथि पूरै ढाकेर बाफ उडिरहेको बाक्लो दूधेचिया राखिदिएर उनले अर्काे प्रश्न तेर्स्याए ।

‘अहिले त्यस्तो बन्दसन्द छैन हाम्रोतिर पनि ।’

‘नेपालमा महिनैपिच्छे प्रधानमन्त्री फेरियो भन्छ । अहिलेचाहिँ को छ नेपालको प्रधानमन्त्री ?’ पसले नेपालको राजनीतिक विषयमै प्रवेश गर्न चाहे ।

देशको राजनीतिमा शीर्ष नेताका कारण भइरहेको गलत प्रवृत्तिले दिमाग हृयाङ पारेपछि यसो फ्रेस हुन निस्केका बेला चिया पसलेले समेत उही तनाव सम्झाइदिएपछि त्यति उति खुसी लागेन ।

‘यो मोमो त एउटैले पो अघाइनेरैछ त,’ विकेशकै टोलीका सुयशले दोकानेको सन्दर्भ मोड्न खोजे । दोकानेलाई प्रतिमोमो २० रुपैयाँ (भारु) दिएर उनीहरू उठे । चौरस्ताको सिरेटोले कामिरहेका बेला २० रुपैयाँमै पेटभरि खान पाउनु पनि उनीहरूका लागि अचम्मै थियो ।

चौरस्तामा पुगेपछि पर्यटक घोडामा चढेर घुम्छन्, अल्मलिन्छन् । अग्ला र बलिया घोडामा चढेर वरपर घुम्न पाइन्छ यहाँ । घोडामा कहिल्यै नचढेका उनीहरूलाई पनि त्यो रहर मेटाउन मन लाग्यो ।

‘भाइहरू नेपालबाट आउनुभाको रछ, हाम्रो चौरस्तामा भानुभक्तको सालिक पनि हेर्नुभो ?’ घोडावाल अधबैंसेले अर्काे जिज्ञासा राखिहाले ।

‘हजुर, हेर्‍यो ।’

‘भानुभक्त नेपालमै जन्मेको ठूलो मान्छे । तर, उता (नेपाल)मा आदिकवि, हृयाँ -भारतमा) त पूरा कवि हो नि फेरि, थाहा छ के ?’

घोडावालको रहस्यमयी प्रश्न सबैका लागि नौलो थियो । ‘होइन, के भन्नुभएको कुरा बुझिएन नि दाइ ?’

‘नेपालमा भानुभक्तको आधा शरीरको सालिक छ । हृयाँ हेर्नुभो नि पूरा शरीरको सालिक, त्यही भएर उताका आदि, यताका पूरा कवि,’ घोडावालको ठट्टाले टोली गलल्ल हाँस्यो ।

‘वाउ, यहाँका मान्छे कति रसिक, हसाउन पनि कति जानेको, नचिनेकै मान्छे भएपनि पर्यटकसँग बोलचाल गर्न थालिहाल्ने, हसाइहाल्ने,’ सुयश रमाए ।

दिनभर नाइटिङ्गेल पार्क, रक गार्डेन, चिडियाखानालगायत दार्जिलिङका मुख्य पर्यटकीयस्थल घुम्दा उस्तै रौसे र मिजासिला मानिस भेटिए । आफूसँगै गाइडका रूपमा हिँडेका नेपालीको चाहिँ जीवनकथा लेख्ने हो भने बेग्लै उपन्यास बन्नेरहेछ । तर, दार्जिलिङ घुम्ने मुडमा उनीहरूलाई त्यो पाटो पर्गेल्न सम्भव भएन ।

दिनभर घुम्दा भेटिएका सयौं हुन् या बेलुका बास बसेको होटलका, दार्जिलिङबासीको लवज, शैली र आतिथ्य सत्कारले आकर्षित गर्‍यो । अपरिचितसँग पनि पुरानै चिनजानको भएजसरी बोलचाल, व्यवहार गर्ने दार्जिलिङवासीको बानीले उनीहरूलाई अझ प्रभावित बनायो ।

‘भाइहरू १ दिनमात्र टाइम लिएर घुम्नु आएछ, मुख्य पर्यटकीयस्थल टाइगर हिल भोलि बिहान जानुपर्छ । १ दिनमा दार्जिलिङ घुमिसक्दैन नि,’ होटल साहुले पनि उनीहरूलाई केहीदिन यतै रहन सुझाए, ‘दार्जिलिङ डोल्लै घुमिसक्नु त कम्तीमा ३ दिन लाग्छ नि हौ ।’

उचाइ सरदर २ हजार १ सय मिटर । ठण्डा मौसम । दार्जिलिङको हावापानीमा रमाउन बर्सेनि लाखौं स्वदेशी र विदेशी पर्यटक आउँछन् । तेस्रो मुलुकबाट दार्जिलिङको इतिहास र समृद्धि अवलोकन गर्न आउने पर्यटकको संख्या नै हजारौं हुन्छ । दक्षिण भारतबाट गर्मी छल्न वृद्धवृद्धा र बालबालिकासहितका आगन्तुक हरेक वर्ष यहाँ आउँछन् । नेपालकै पश्चिमी जिल्लाहरूबाट सयौं विद्यार्थी र युवा भ्रमणका लागि दार्जिलिङ पुग्छन् । उच्च पहाडमा जोखिम चिर्दै व्यवस्थित हिसाबले बनाइएका घर, बजार र पर्यटकीय सौन्दर्यमा पाहुना लालायित हुन्छन् । घरमा आएका पाहुनालाई चिया र बिस्कुटले स्वागत गर्ने दार्जिलिङको छुट्टै परम्परा छ । ‘सगुन’ चल्नेलाई पनि आतिथ्य सत्कारमा सन्तुष्ट बनाउन पाउँदा हषिर्त हुन्छन्, उनीहरू .

अंग्रेज-नेपाल युद्धपछि १८७२ साल फागुन २० मा भएको सुगौली सन्धिले पूर्वमा मेची नदीलाई नेपाल-भारत सीमा कायम गर्‍यो । सन्धिपछि नेपालले मेचीदेखि नागरीगढी हुँदै टिस्टासम्मको भू-भाग ४० दिनभित्र गढी खाली गर्नुपर्ने भयो । मिरिकस्थित नागरीगढीमा रहेको श्रीनाथ सिंह पल्टनचाहिँ त्यसपछि इलाम करफोकको पूर्णेडाँडा, नामसालिङ हुँदै अहिलेको इलाम सदरमुकाम आएर बस्यो । हजारौं नेपाली उतै रहे ।

कुहिरोले ढाकेको दार्जिलिङ ।

नेपालीभाषीकै मुख्य बसोबास रहेको दार्जिलिङ क्षेत्रमा हरेक वर्ष चाडपर्व मनाइन्छ । दसैं आउँछ, तिहार आउँछ, छठ, माघे, साउने संक्रान्ति, बुद्धजयन्ती, फागुपर्व, बिहेबटुलो, ब्रतबन्धलगायत सबै चाडपर्व आउँछन् । । तर, चाडबाड एउटै भएपनि नेपालभित्र र नेपालीभाषीकै बसोबास रहेको छिमेकी दार्जिलिङमा चाडबाडको रौनक चाहिँ फरक छ । दार्जिलिङमा बसोबास गर्ने नेपालीभाषी हरेक चाड मनाउँदा आफ्नो गोर्खा संस्कृति र पहिचानलाई पहिलो प्राथमिकतामा राख्छन् । सबैजसो चाडबाडमा त्यही संस्कृति झल्काउँछन् । चाडपर्वमा पुरुषले दौरा-सुरुवाल, भादगाउँले/ढाका टोपी लाउँछन् । कम्मरमा खुकुरी भिर्छन् । महिलाको शरीरमा गुन्यु, चौबन्दी चोलो र पटुकी छुट्दैन ।

यतिबेला दार्जिलिङलाई दशैं-तिहारले छपक्क छोइसकेको छ । बजारमा किनमेल गर्नेको घुइँचो छ । बर्खाभर घरपरिपरि उमि्रएको झारपात उखेल्ने, लिपपोत गरेर चिटिक्क बनाउन सुरु भइसकेको छ । यहाँका नेपालीभाषी चाडबाडमा किनमेल गर्न बाहिर जाँदैनन् । थोरै संख्याका मानिस मात्र किनमेलका लागि सिलिगुडीसम्म पुग्छन् ।

दार्जिलिङ, सिक्किम, मिरिक, खर्साङ, कालेम्पोङ, सिलगुडीलगायत क्षेत्रमा दसैं, तिहारलगायतका चाड हर्षोल्लाससाथ मनाइन्छ । दार्जिलिङबासी लेखक ज्ञानेन्द्र अर्याल भन्छन्, ‘नेपालमा बरु घर-घरमा चाडबाड मनाउने चलन छ, यहाँ चाहिँ नेपालीभाषीले सामूहिक रूपमा निकै रमाइलो गरेर चाडपर्व मनाउँछन् ।’ उनले चाडबाडमा नेपालीभाषीको मात्र होइन, आ-आफ्नो सांस्कृतिक पहिचानसमेत झल्काउने गरिएको बताए । यहाँका प्रत्येक जातजातिले चाडपर्व र वर्षेनि पर्वकै रूपमा मनाइने भानुजयन्तीमा आफ्नै सांस्कृतिक वेशभुषा पहिरिन्छन् । ‘हामी नेपाली पोशाक र यहाँका १३/१४ जातिले आ-आफ्नै सांस्कृतिक पोसाकमा सजिएर चाडबाड मनाउँछौं,’ उनले भने, ‘दसैं-तिहार चाहिँ घर र परिवारमा मात्र सीमित रहँदैन, सामूहिक रूपमै मनाउँछौं ।’

घटस्थापनामा जमरा राखिन्छ । नवदुर्गा भावनीको पूजा सुरु गरिन्छ । फूलपातीको दिन शोभायात्रा निकालिन्छ । शोभायात्रामा पनि आ-आफ्नो परम्परा र संस्कृति झल्काइन्छ । नवमीको दिन दार्जिलिङ पुलिसको हेडक्वार्टरमै बलिपूजा आयोजना गरिन्छ । विजयादशमीको दिन राजाटीका लगाउने, आफन्त मान्यजनबाट टीका र आशीर्वाद लिने गरिन्छ । विजया दशमीपछिका ५ दिन यही क्रम चल्छ र पूणिर्माको दिन टीका सेलाउने चलन छ ।

१९८० को दशकमा सुरु गोर्खाल्यान्ड आन्दोलन उत्कर्षमा पुगेका बेला सन् २००७/००८ देखि यहाँका नेपालीभाषीको एकताको गाँठो अझ कसिलो भएको हो । आन्दोलनक्रममा आ-आफ्नो परम्परा र संस्कृति उजागर गर्न गोर्खाको पोसाक अनिवार्यझैं गरिएको थियो । त्यसैबेलादेखि आफ्नो संस्कृतिअनुसारका चाडबाड मनाउने अझ बलियो थिति बस्यो । त्यसैको आडले अहिले पनि यहाँका नेपालीभाषी एकसूत्रमा कसिएको लेखक अर्याल बताउँछन् । त्यहीबेला नेपालीभाषी आफ्नो पहिचानप्रति सचेत भए । बेला-बेला राजनीतिक उथलपुथलले तनाव निम्त्याउने गरेपनि अहिले भने दार्जिलिङ शान्त छ ।

अंग्रेज शासनकालमा दार्जिलिङ पहाडले फेरेको मुहार संसारभर प्रसिद्ध छ । सन् १८३५ मा सिक्किमका राजाले इस्ट इन्डिया कम्पनीलाई दार्जिलिङ सुम्पिए । रोगब्याधीबाट बच्ने ठाउँका रूपमा दार्जिलिङमा बसोबास विस्तार गरिएको इतिहास छ । त्यसपछि यहाँ विकास भएको पर्यटन, तीर्थाटन, पहाडी रेल र चियाले दार्जिलिङको रूप र सार नै परिवर्तन गरिदियो । प्राध्यापक महेन्द्र पी. लामा दार्जिलिङ पहाडको विकासलाई विभिन्न कालखण्डमा व्याख्या गर्छन् । उनले सन् १८३५ देखि १९४० लाई आधार निर्माण, १९४० देखि १९६९ लाई सुनौलो र १९७० देखि २००० लाई जागरुककाल मानेका छन् ।

सन् १८८१ मा दार्जिलिङ पहाडमा सानो रेल पुर्‍याइयो । रेलका इन्जिनियर फ्रायांकलिन फ्रेस्टिज सिलिगुडीबाट अलिकति पहाड चढेपछि माथि उक्लिन सकेनन् । यसबेला सँगै रहेकी पत्नी ले ‘तिमी जसरी यताउता गर्दै पहाड उक्लिँदैछौ, त्यसरी नै उहाँ रेल गुडाउनुपर्छ’ भन्ने सल्लाह दिएपछि प्रेस्टिन उत्साही भएरु घुमाउरो लिक बनाइ दार्जिलिङसम्म रेल पुर्‍याउन सफल भएको इतिहास छ । अहिले दार्जिलिङको सानो रेल पर्यटकका लागि मुख्य आकर्षणको केन्द्र त बनेको छ नै, यसले दार्जिलिङमा महत्त्वपूर्ण इतिहाससमेत बोकेको छ । नोबेल पुरस्कार विजेता मदर टेरेसासमेत यही रेल चढेर दार्जिलिङ पुगेको इतिहास स्थानीयका लागि सम्झनायोग्य बनेको छ ।

त्यसैको जगमा टेकेर दार्जिलिङबासीले गरिरहेको मेहनतले विश्व आकर्षित गरिरहेको छ । संसारका अर्गानिक चिया पारखीको रोजाइमा छ दार्जिलिङ । अंग्रेज शासक डा.क्याम्पबेल दार्जिलिङको चियाका सुरुवातकर्ता हुन् । अंग्रेजले दार्जिलिङ कमानको चिया बेच्न कोलकातामात्र नभई लन्डनमा पनि अक्सन खोलेपछि चिया व्यापार चम्कियो । अहिलेसम्म चम्किरहेकै छ । दार्जिलिङकै सिको गरेर सीमा जोडिएको इलाममा पनि १९२० सालमा चिया खेती थालियो । अहिले इलामे किसानले चियालाई मुख्य आयस्रोत बनाएका छन् । चियाकै माध्यमबाट नेपालको नाम संसारभर छर्ने प्रयास गरिरहेका छन् । हुन त, दार्जिलिङको ब्रान्डमा युरोपमा विक्री भइरहेको उच्च गुणस्तरको अर्गानिक चियामा नेपाली किसानको समेत रगत-पसिना मिसिएको छ । यो अलग पाटो हो ।

नेपाली साहित्य र संगीत विकासको क्षेत्रमा अलग गर्न नसकिने ठाउँ हो दार्जिलिङ । संगीतहस्ती अम्बर गुरुङ, गोपाल योञ्जन, शिलाबहादुर/कुन्ती मोक्तान, उदय/मनिला सोताङ, सुकमित गुरुङ, लासमित राई, अरुण सोताङ, राजेन्द्र पुरुषोत्तम, मनबहादुर मुखिया, लक्कीदेवी सुन्दास, डेजी बराइली, चन्दन लम्जेल, मणिकमल क्षेत्री, दाबा गेल्बुलगायत धेरै नेपाली सांगीतिक गहना जे छन्, दार्जिलिङकै उपहार छन् । इन्द्रबहादुर राई, पारिजात, सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला, पारसमणि प्रधान, लैनसिंह बाङ्देल, हरिभक्त कटुवाल, गुमानसिंह चाम्लिङ, राजनारायण प्रधानलगायतका नेपाली साहित्यकारसँग दार्जिलिङको अटुट नाता-सम्बन्ध छ । नेपाल-भारत सीमा क्षेत्रनजिकै फिक्कललाई कार्यथलो बनाइरहेका साहित्यकार गणेश रसिक दार्जिलिङ र नेपाली साहित्यबीच घनिष्ट नाता-सम्बन्ध रहेको बताउँछन् । ‘नेपाली संगीत र साहित्यमा दार्जिलिङ एक मलिलो भूमि मान्नुपर्छ,’ उनी भन्छन्, ‘साहित्य र संगीतलाई भूगोलले छेक्दैन भन्ने गतिलो उदाहरण हो यो ।’

दार्जिलिङबासी सर्वसाधारणको जीवनशैली र रहनसहन अरूका लागि अनुकरणीय छ । यहाँका गाउँमा प्रायः जस्ताले छाएको, एकतले सानो घर बनाउने चलन छ । काठले बेरा गरिएका र रंगरोगनले आकर्षक बनाइएका घरभित्रको सजावट पनि उत्तिकै राम्रो देखिन्छ । चियाबारी वा अन्य क्षेत्रमा काम गर्ने श्रमिकले पनि थोरै आयबाट जीवनलाई राम्रो व्यवस्थापन गरेका छन् । कमाएको सदुपयोग र जतन गर्ने बानीले उनीहरूको जीवनस्तर सुधि्रएको हो । ‘कमाइ त धेरै हुँदैन तर जति कमाइन्छ, त्यसलाई फुर्मास नगर्दा जीवन चलाउन समस्या हुँदैन,’ चिया कमानका श्रमिक दाबा तामाङ भन्छन्, ‘छोराछोरीलाई खान-लाउन, स्कुल पढाउन र पाहुनापासलाई यसो एकछाक मिठोमसिनु दिन पुग्यो भने हुन्छ, धेरै कमाउने सपना पनि छैन ।’

भारतको दार्जिलिङका पर्यटकीयस्थलहरू र आदिकवि भानुभक्त आचार्यको सालिक

 



https://ift.tt/3uvqH3s

प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,59,news,652,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: दार्जिलिङ : नेपाली मन, नेपाली पन
दार्जिलिङ : नेपाली मन, नेपाली पन
https://www.onlinekhabar.com/wp-content/uploads/2021/10/nitingel-park.jpg
Trilok Khabar
https://www.trilokkhabar.com/2021/10/blog-post_2.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2021/10/blog-post_2.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content