जनकपुरधाम । बालिकालाई जनकपुरको एक होटेलमा तीन दिनसम्म बन्धक बनाएर सामूहिक बलात्कार गरेको आरोपमा दुई युवकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धनुषाको बिदेह नगरपालिका वडा नंं ४, ढाडीका वर्ष ३० को जितेन्द्रकुमार महरा र वर्ष ३२ अरुणकुमार महरा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरीले जितेन्द्रलाई जनकपुरबाट र अरुणलाई बिदेह नगरपालिकाबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनु भएको छ ।
जबरजस्ती करणी गरेको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । जिल्ला अदालत धनुषाबाट म्याद थप गरी हिरासतमा राखेर घटनाको थप अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक बस्नेतले बताउनुभयो ।
आरोपित जितेन्द्र र अरुणमाथि पीडित बालिकाकी सानी आमा शनिचेरीदेवी महराले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दर्ता गराएपछि प्रहरीले पक्राउ गरेको छ । उजुरीमा आरोपितहरूले भतिजी पर्ने बालिकालाई जनकपुरको शिवचौकस्थित एक होटलमा बन्धक बनाएर असोज ३ गतेदेखि ६ गतेसम्म जबरजस्ती करणी गरेको आरोप पीडितले पक्षले लगाएको छ ।
बेपत्ता भएको तीन दिनपछि घर आएकी बालिकाले घटनाबारे जानकारी गराएपछि पीडित पक्षले प्रहरीमा आरोपीका विरुद्ध उजुरी दिएको थियो । बालिकाकी आमाको मृत्यु भइसकेको र बुवाको मानसिक सन्तुलन ठिक नभएको स्थानीयले जानकारी दिएको छ ।
https://ift.tt/eA8V8J
प्रतिक्रिया लेख्नुहोस्