सप्तरी । विश्वको १०८ शक्तिपीठहरु मध्ये ५२ औ स्थानमा पर्ने सप्तरी जिल्लामा अवस्थित छिन्नमस्ता भगवती मन्दिर पनि एक हो । सप्तरी सदरमुकाम राजविराज देखी १० किलोमिटर दक्षिण छिन्नमस्ता गाउँपालिकाको सखडामा छिन्नमस्ता भगवतीको मन्दिर छ ।
सन् १०९७ मा मुसलमानले आक्रमण गर्दा कर्नाटकका कर्नाटवंशी राजा नान्यदेव भागेर पाटली पुत्र हुँदै मिथिला आई पुगेर सिम्रौैनगढ (बारा)मा राजधानी कायम गरे । यिनै नान्यदेव वंशको पाँचौँ पुस्तामा शक्रसिंह देव राजा भएका थिए । राजा शक्रसिंह भाइ–भारदारको दबाबका कारण आफ्ना छोरा कुमार हरिसिंहदेवलाई राजकाजको सम्पूर्ण जिम्मा दिएर शेष जीवन शान्तिपूर्ण रूपले बिताउन सप्तरीको सखडा क्षेत्र आएका थिए ।
राजा शक्रसिंह घना जङ्गलले भरिएको सखडा क्षेत्रको जङ्गलमा आएर बस्न थाल्नु भयो । त्यही समयमा राजा शक्रसिंहलाई भगवतीले सपनामा तिमी जहाँ बसिरहेका छौ, त्रिशूल गाडिएको भेट्टिनेछ र त्यसैको छेउ–छाउमा मूर्ति पाउनेछौ । उक्त मूर्तिको पूजा–आजा गरेर बस, तिमीलाई राम्रो हुनेछ । उपरोक्त शब्दवाणी भनेर देवी भगवती अन्तरध्यान भइन् । देवी भगवतीले सपनामा दिएको निर्देशानुसार त्रिशूल गाडिएको क्षेत्रमा राजा शक्रसिंहले मूर्ति खोज्न थाले ।
खोजीका क्रममा राजा शक्रसिंहले जलाशय अर्थात् हालको जलकुण्डका किनारमा मूर्तिहरू भेट्टिएको किंवदन्तीहरू सुन्न पाइन्छ । शक्रसिंहले तत्पश्चात् माता भगवतीको अनन्य भक्त भएर उक्त क्षेत्रमा भगवतीको मूर्ति स्थापना गरेर पूजा–आजा गर्न थाले ।
मन्दिरभित्र मूल देवीको रुपमा भगवतीको कालो रङको बुट्टेदार मूर्ति छ । उक्त मूर्तिको खुटट्तिर राँगाको काटिएको टाउको प्रस्ट रुपमा ढुङ्गामा कुँदिएको छ । मूल मूर्तिको देब्रेतिर दक्षिणकाली, महिषमदिर्नी र दाहिनेतिर चामुण्डा भैरवी र त्यस्तै कालो रङको अर्को पलस्तरको मूर्ति स्थापित छ । ती मूर्तिहरूलाई पञ्चभगिनी पनि भनिन्छ ।
पूजा समितिले वर्षका चारवटै नवरात्रमा ५६ प्रकारका परिकार बनाई मध्यरातमा पूजा गर्दै आएको छ । पूजा गर्दा केही विघ्नबाधा उत्पन्न हुन थालेपछि भगवतीको सिंहासनमा एउटा जन्तर राखी महाअष्टमीको राति तान्त्रिक विधिद्वारा पूजा गर्ने गरिएको छ । यहाँ बलि प्रदान गर्दा निस्केको रगतमा झिँगा नबस्नु, रगत लुगामा लागे पनि दाग नलाग्नु, रगत पोखरीको पानीमा मिसिदा रातो नहुनु, बलि प्रदान गर्ने नाममा राखेका खसी बाख्रालाई केही नहुनु, बलिका लागि किनेका पशुलाई कुकुर र स्याल टोकेको छ भने मन्दिर नपुग्दै मर्नु आदि जस्ता कुराहरू आश्चर्यजनक छ ।
छिन्नमस्ता भगवती मनोकामना पूरा गर्ने शक्तिपीठहरुमध्ये एक मानिएको हुँदा यहाँ नेपाल तथा भारतका श्रद्धालु भक्तजनहरूको बोका, भेडा, परेवा, हाँस र माछाका बली दिनहुँ प्रदान हुन्छ । साथै सयौँको सङ्ख्यामा भक्तजनहरूको घुइँचो लाग्ने गरेको मूल पुजारी महाकान्त ठाकुर बताउनुहुन्छ । यहाँ प्रत्येक दिन सय भन्दा बढी तथा बडादसैँमा हजारौँ बोका, भेडा, परेवा, हाँसको बलि चढाइन्छ । मनोकामना पूरा भएकाहरूले पञ्चबलिसमेत गर्छन् ।
सखडेश्वरी भगवतीको विषयमा एउटा यस्तो जनश्रुति रहेको छ । एक समयमा बिर्तवाल परिवारमा रोग व्याधिको प्रकोप फैलिएको थियो । त्यति जति गर्दा पनि ओखतीले निको नभएपछि आदिशक्ति माता सखडेश्वरी भगवती कहाँ गएर बिन्ती गर्दै कबुला (भाकल) गरेका थिए । माता भगवतीको महिमाले बिर्तवाल परिवार रोग–व्याधिमुक्त भएपछि प्रसन्न भएर बिर्तवाल परिवारले चाँदीको मुकुट बनाएर चढाएका थिए ।
छिन्नमस्ता भगवती मुसलमानहरूको पनि आस्थाको केन्द्र बनेको छ । मुसलमान समुदायका हजारौँ व्यक्ति विभिन्न मनोकामना लिएर छिन्नमस्ता भगवती मन्दिर बाहिर बसी फूलहैस गर्न आउने गरेका पीठाधिश ठाकुर बताउनुहुन्छ । श्रद्धा र भक्तिका साथ भगवतीको पूजा गर्दा मगज बिग्रेकाहरू पनि ठिक भएको पीठाधिश ठाकुरले जानकारी गराउनुभयो ।
करिब सवा सय वर्षअघि सखडाको भगवती मन्दिर एउटा गुफाको रुपमा थियो । त्यहाँ स्थानीय बासिन्दा च्याखुरी नानी र चुनीलाल ठाकुरले सफा गरी भीक्षाटनबाट सङ्कलित रकमबाट सानो मन्दिर निर्माण गरेका थिए तर सो मन्दिर वि.सं. १९९० सालको भूकम्पमा भत्किएकोले त्यस बेलाका पुजारी अनिरुद्ध ठाकुरले समाजको सहयोगमा टिनको छाना भएको मन्दिर बनाएका थिए सो पनि जीर्ण हुँदै गएकाले वि.सं. २०२८ सालमा तत्कालीन भारतीय रेल मन्त्री ललितनारायण मिश्रले पक्की मन्दिरको साथै तीन कोठे धर्मशाला पनि बनाउन लगाएका थिए । वि.सं. २०४४ सालमा तत्कालीन राजा वीरेन्द्रले मन्दिर निर्माणको लागि रु. पाँच लाख दिएका थिए त्यस रकमबाट तत्कालीन सगरमाथा अञ्चलाधीश सूर्यबहादुर सेन ओलीले भगवतीको प्यागोडा शैलीको भव्य मन्दिरको निर्माण गराए जुन हाल रहेको छ ।
धर्मशास्त्रअनुसार घाँटी छिनिएको टाउको आफ्नै हातमा लिएर घाँटीबाट निस्केको रगत खुवाइरहेकी देवी छिन्नमस्ता हुन् । यद्यपि यस्तो स्वरूप यहाँको मूर्तिमा देखिँदैन । तराईमा माटोको मूर्ति बनाउने परम्परा अनुसार दशमीको समयमा बनाइएको मूर्तिहरू मध्ये भगवतीको मूर्तिको तलको भागमा राँगा(पाडा) अर्थात् असुरको मूर्ति समेत बनाइने परम्परा रहँदै आएको छ । सिंहमा सवार माता भगवती असुरलाई संहार गरिरहेको दृश्याङ्कित मूर्ति देख्न सकिन्छ । यी यावत् तथ्यहरूबाट सखडेश्वरी छिन्नमस्ता भगवतीको स्वरूप महिषमर्दिनी हो । वि.स. १९८४ मा सप्तरी तिलाठी निवासी ज्योतिषी यदुनन्दन मिश्रले अष्टधातुले बनेको एउटा घण्टा सखडा मन्दिरमा चढाएका थिए । उक्त घण्टामा शक्रेश्वरी एक पटक र महिषमदिर्नी दुई पटक लेखिएको छ । यसबाट स्पष्ट हुन्छ शक्रसिंहले आफ्नो इष्टदेवी भगवती स्थापना गरेका थिए ।
मेचीदेखि महाकाली भाग– १ पुस्तकमा सिम्रौनगढका राजा शक्रसिंह देवले आफ्नो कुल देवी शक्रेश्वरीको स्थापना गरी मन्दिर बनाएका थिए भन्ने लेखिएको छ । राजा सिंहको अपभ्रंश भएर नै उक्त गाउँ सखडा हुन गएको हो । तीन दशक पूर्वसम्म सखडा भगवतीलाई सखडेश्वरी भगवती भनेर नै पूजा गरिन्थ्यो ।
सखडा भगवतीको मुतिलाई सूक्ष्म रूपले हेर्दा तीनवटा टुक्रा मिलाएर स्थापित गरिएको देखिन्छ । सन् १३२८ मा गयासुद्धधिन तुगलकले तिरहुतमाथि आक्रमण गरेका थिए । जसको फलस्वरुप सिम्रौनगढ ध्वस्त भयो । सिम्रौनगढका मूर्तिहरू समेत अहिले पनि फुटेकै अवस्थामा छन् । यस प्रकार सखडा भगवतीको मूर्ति पनि त्यही बेलाको आक्रमणमा फुटेको इतिहासविद् हरिकान्तलाल दासको अनुमान छ ।
माता सखडेश्वरीको महिमाबाट राजा महाराजा मात्र नभई नेपाल तथा भारतका विशिष्ट ओहदामा रहेकाहरू समेत प्रभावित भई वर्षमा कम्तीमा एक पटक यहाँ आउने गर्दछन् । सङ्कट बिनासिनी भगवतीको दर्शन गर्नका लागि वि.सं. २०६२ सालमा तत्कालीन राजा ज्ञानेन्द्र समेत आएका थिए । उनले मन्दिरका तत्कालीन महन्थ महाकान्त ठाकुरसँग भेट गरी मन्दिरको विकास निर्माणका लागि आश्वासन दिएका थिए । पीठाधिसलाई काठमाडौँ बोलाएर सम्मान गर्दै सम्बन्धित मन्त्रालयका प्रमुखलाई बोलाई सखडेश्वरी भगवतीको विकास निर्माणका लागि रकम बिनियोजन गर्न निर्देशन दिएका थिए । तत्पश्चात् मन्दिरको पोखरी घाट सहितका काम गर्न मन्दिर समितिलाई रकम उपलब्ध भएको थियो ।
यसैगरी वि. सं. २०६६ सालमा गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव समेत शखड़ेश्वरी छिन्नमस्ता भगवती मन्दिरमा दर्शन तथा पूजा–आजा गर्न आएका थिए । उनले सौहार्दपूर्ण वातावरणमा पूजा–आजा गरी मन्दिर संरक्षण सम्वद्र्धन तथा विकासका लागि आफूले पहल गर्ने वचनबद्धता व्यक्त गरेका थिए ।
यो स्थल शक्तिपीठको रूपमा पहिलादेखि नै पुजित रहँदै आए पनि वि.सं. २०६७ साल असोज ९ गते नेपालका प्रथम जगद्गुरु श्री बालसन्त मोहनशरण देवाचार्यले शक्तिपीठ घोषणा गर्नु भयो । एक भव्य समारोहका बीच शक्तिपीठ घोषणा गर्दै उहाँले मूल पुजारी महाकान्त ठाकुरलाई पीठाधीसको पदवी सहित प्रमाणपत्र प्रदान गर्नु भयो ।
प्रतिक्रिया लेख्नुहोस्